
वीरगंज । जनमत पार्टी निकट युवा जनमत संघ पर्साको आयोजनामा सोमबार वीरगंजमा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित जनमत पार्टी पर्साको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न दलका २ सयभन्दा बढी युवाहरूले जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिएका छन्।
पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका नेता तथा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ र जिल्ला अध्यक्ष सर्राफले नवप्रवेशीलाई माला, गम्छा र टीका लगाएर स्वागत गरेका थिए।
युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य माधव सिंह, केन्द्रीय सदस्यहरू सिपु तिवारी, अनुराग द्विवेदी, विद्यालाल प्रसाद, युवाका केन्द्रीय संयोजक संजय यादव, युवा नेता संजय सिंह, महादेव शर्मा, राजुराज गिरी, मनोज साहलगायतको उपस्थिति थियो।
कार्यक्रमकै अवसरमा युवा जनमत संघ पर्साको २१ सदस्यीय समिति विस्तार गरिएको जनमत पार्टी पर्साले जनाएको छ। पार्टीमा नवप्रवेशी युवाहरूको योगदानले पार्टीको संगठनलाई थप सुदृढ बनाउने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।