जनकपुरधाममा विवाहपञ्चमी उत्सव

आजु मिथिला नगरिया निहाल सखिया,चारों दुलहा में बड का कमाल सखिया!यी र यस्ता धार्मिक लोक गीतले अहिले जनकपुरधाममुग्ध छ। कारण साताव्यापी विवाहपञ्चमी महोत्सवको शुक्रबार मुख्य दिन जानकी मन्दिरमा रामसीताको विवाह हुँदैछ।त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाइन्छ। शुक्रबार दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर हुन्छ।

ढोल पिपही, सहनाई, बैण्ड बाजा र पञ्चेबाजासहित निस्किने दुबै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयम्भरपछि बेलुकी जानकी मन्दिरमा विवाह हुनेछ ।जनकपुरधाममा सप्ताहव्यापीरूपमा विवाहपञ्चमी मनाउने क्रममा बिहीबारमटकोर गरिएको थियो । त्यसअघि तिलकोत्सव, नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ । सातौँ अर्थात् अन्तिम दिन शनिबार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी विधिवतरुपमा सम्पन्न हुनेछ।

मिथिलाञ्चलकी राजकुमारी सीता र अयोध्याका राजकुमार रामबीच त्रेता युगमा भएको उक्त विवाह नेपाल–भारतबीचको सांस्कृतिक सेतुको पर्याय बनेको छ। त्यती बेला देखि नै नेपाल – भारतबीच रोटी बेटीको सम्बन्ध स्थापित भएको बताइन्छ ।यस सम्बन्धको साक्षी बन्न प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा सहभागी हुन लाखौं भारतीय तथा तेश्रो मुलुकमा पर्यटकहरू जनकपुरधाम आउँछन्। पाहुनाहरूको स्वागत– सत्कारका लागि मधेस प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा क्लव र समिटिहरु खटिन्छन्।‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं’ महन्थ रामरोशन दासले नागरिकसँग भने,‘पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेहरूलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे । २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो।’

अयोध्याबाट जन्ती ल्याउनका लागि दुई देशका सरकार र तत्कालीन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेको महन्थ बताउँछन्। पहिलो पटक चार–पाँच सय जन्ती गाडीमा आएका थिए। रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुरबाट जन्ती आएका थिए। त्यसयता हरेक पाँच वर्षमा औपचारिक रूपमा जन्ती ल्याउने गरिएको छ।विवाहपञ्चमीको अवसरमा मधेस प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि बिदा दिने निर्णय गरेको हो।

पहिलो दिन

मंसिर १६ गते (आइतबार) यस वर्ष महोत्सव सुरु भयो। पहिलो दिन नगर दर्शन कार्यक्रम गरिएको थियो। त्रेता युगमा भगवान् राम आफ्ना भाइहरूका साथ जनकपुर आउँदा नगर क्षेत्रको अवलोकन गरेका थिए। रामायणमा उल्लेखित सोही क्षणहरूको स्मरण गर्दै विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन झाँकीको आयोजना गर्ने गरिन्छ। जसमा राम, लक्ष्मण र उनका भाइहरूको प्रतीकस्वरूप स–साना बालबालिकालाई सजाएर नगरमा घुमाउने गरिन्छ।

दोस्रो दिन

महोत्सवको दोस्रो दिन सोमबार फूलबारी लीला मनाइएको थियो। भगवान् राम जनकपुरमा घुम्ने क्रममा पुष्प वाटिकामा छिरेका थिए, जहाँ सीता पनि आफ्नी बहिनी र साथीहरूसँग घुम्न निस्केकी थिइन्। राम र सीताको पहिलो भेट सोही वाटिकामा भएको स्मरणमा फूलबारी लीला मनाउने गरिन्छ।

तेस्रो दिन

महोत्सवको तेस्रो दिन मंगलबार धनुष यज्ञको आयोजना गरिएको थियो । सीताको विवाहका लागि बुवा जनकले सर्त राखेका थिए। उनले भगवान् शिवको धनुष जसले उचालेर त्यसमा प्रत्यन्चा चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गरिदिने सर्त राखेका थिए। उक्त सर्तसहित जनकले धनुष यज्ञको आयोजना गरे। सो यज्ञमा ठूलठूला पराक्रमी राजा, महाराजा र वीर पुरुषहरू सहभागी भए। तर, कसैले पनि जनकको सर्त पूरा गर्न सकेनन्। शिवको धनुष उचाल्न त परै जाओस्, हल्लाउन पनि सकेनन्। तर, रामले भने सहजै धनुषलाई उचाले र भाँचिदिए। जनकको सर्त पूरा गरेपछि सीताको पतिका रूपमा चुनिए, राम। सोही प्रसंगलाई जीवन्त बनाउन धनुष यज्ञको आयोजना गर्ने गरिन्छ।

चौथो दिन

महोत्सवको चौथो दिन बुधबार  तिलकोत्सव भयो । रामले स्वयंम्बरको सर्त पूरा गरेपछि राजा जनक र अयोध्याका राजा दशरथबीच छोराछोरीको विवाहको मिति तय गर्न भेटघाट गरिन्छ। जसलाई तिलकोत्सव समारोह भनिन्छ। यस समारोहमा सीताको अभिभावकको भूमिकामा जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास र रामको अभिभावकको रूपमा राम मन्दिरका महन्थ राम गिरीको सहभागिता भव्य समारोहबीच भयो । तिलकोत्सव कार्यक्रमका लागि जानकी मन्दिरबाट राम मन्दिरमा थरीथरीका मिठाई, फलफूल र कोसेलीहरू (भार) पठाउने चलन छ। तिलकोत्सव कार्यक्रममै सम्धी भेटघाट हुने गर्छ।

पाँचौं दिन

महोत्सवको पाँचौं बिहीबार मटकोर सम्पन्न भयो । पवित्र गंगासागर पोखरीबाट माटो खनेर ल्याएपछि सोही माटोले विवाहको मडवा (मण्डप) लिप्ने विधिलाई मटकोर भनिन्छ। मटकोर कार्यक्रम गर्न जानकी मन्दिरबाट सीताको सवारी निस्केपछि त्यसलाई लाखौं श्रद्धालुहरूले गीत गाउँदै र नृत्य गर्दै आशीर्वाद दिने गर्छन्।

छैटौं दिन

साताव्यापी मनाइने विवाह पञ्चमीको छैटौं दिन विशेष हुन्छ। शुक्रबार जानकी मन्दिरबाट निस्कने माता सीताको डोली र राममन्दिरबाट निस्कने भगवान् रामको डोली ऐतिहासिक बाह्बिघा मैदानमा परिक्रमा गराएर लाखौं श्रद्धालुहरू र अयोध्याबाट आएका साधुसन्तको जन्तीको अगाडि स्वयम्बर गराइन्छ। स्वयम्बरपश्चात् डोलीहरू मन्दिर फर्किन्छन् र साँझबाट जानकी मन्दिरको परिसरमा बनाइएको भव्य मडवामा वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ।

सातौं दिन

महोत्सवको अन्तिम दिन रामकलेवा हुन्छ। रामकलेवामा अयोध्याबाट विवाहमा सहभागी हुन आएका साधुसन्तहरू र सहभागी सबै श्रद्धालुहरूलाई जानकी मन्दिरको तर्फबाट भोजको आयोजना गरिन्छ। भोजपछि साधुसन्तलाई कोसेली दिँदै बिदाइ गरिन्छ। यसरी विवाहपञ्चमी सम्पन्न हुन्छ।विवाह पञ्चमीको सुरुआत कहिलेदेखि भयो भने यकिन साथ भन्न नसकिएपनि आधुनिक जनकपुरधामको निर्माणसँगै रामनवमी तथा विवाह पञ्चमी जस्ता मेला, उत्सवहरूको सुरुवात भएको लोकविश्वास छ।