नेपाल मेडिकल कलेजमा ५० वर्षीया महिलाको पाठेघरको सफल शल्यक्रिया
काठमाडौं – लामो समयदेखि पाठेघरको गम्भीर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार गरिएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दूरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो । गत मङ्गलवार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी कुँईकेलको कलेजकी स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख प्रा।डा। रिता मरहठ्ठा नेतृत्वको टीमले सफल शल्यक्रिया गरेको हो ।
महिनाबारीमा अत्यधिक रक्तश्राव हुने, महिनावारी समयमा नहुने जस्ताबाट पीडित कुँईकेलको भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता अत्यन्त बाक्लो भएको र पाठेघरमा ट्युमरसमेत पलाएको पाइएको प्रा.डा. रिता मरहठ्ठाले जानकारी दिइन् ।‘उहाँ लामो समयदेखि महिनावारीमा अत्यधिक रक्तस्रावबाट पीडित हुनुहुन्थ्यो । विभिन्न औषधी उपचार गर्दा पनि ठिक नभएपछि भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता बाक्लो भएको र ट्युमर पनि पलाएको पाइयो । त्यसपछि तत्कालै शल्यक्रिया गर्न सल्लाह दियौं ।’ प्रा.डा. मरहठ्ठाले भनिन् । सरस्वतीको औषधीबाट उपचार नभएपछि प्रा.डा.मरहठ्ठाले पाठेघरको शल्यक्रिया गर्न सल्लाह दिएकी थिइन् ।
सरस्वतीको पाठेघरमा ट्युमर पाइएपछि प्रा.डा. मरहठ्ठाले पाठेघर निकाल्न सुझाएकोमा उनकै नेतृत्वमा दूरबिनको माध्यमबाट सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात बिरामी सरस्वतीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले शनिवार डिस्चार्ज समेत गरिसकेको छ ।नेपाल मेडिकल कलेजको स्त्री तथा प्रसूति रोग विभागमादूरबिनको माध्यमबाट जति पनि शल्यक्रियाहरू गरिन्छ त्यसको नेतृत्व डा. मरहठ्ठाले गरिरहेकी छन् ।
कलेजमा १०-१२ वर्षयता पाठेघरका जटिल शल्यक्रिया र उपचार भइरहेको छ । विगत २५ वर्षदेखि कलेजमा कार्यरत प्रा.डा. मरहठ्ठा स्त्री तथा प्रसूति रोगको वरिष्ठ विशेषज्ञ डाक्टर हुन् । विभागमा स्त्री रोग विशेषज्ञहरु डा. सनिता कायस्थ, डा. अमृता गिरी, डा. अंशुमाला जोशी, डा. आस्था श्रेष्ठ, डा. अमरेन्द्र प्रसाद कुशवाहा लगायत रहेका छन् ।आमाको सफल शल्यक्रिया भएकोमा खुसी व्यक्त गर्दै छोरा जनार्दन कुँईकेलले अस्पतालबाट प्राप्त सेवाहरू राम्रो र प्रभावकारी रहेको बताए । आफुहरु स्थानीय भएको तथा लामो समयदेखि मेडिकल कलेजमै उपचार गराईरहेको बताउँदै अस्पतालले हरेक रोगको उपचारमा विशेषज्ञ चिकित्सकहरू उपलब्ध गराएकाले सर्वसुलभ शुल्कमै उपचार गर्न पाइएको बताए । ‘अस्पतालको सेवाहरू राम्रो छ । हामी नियमित आइरहन्छौं । मेडिकल कलेज भएकोले शुल्क पनि सस्तै छ । विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । स्टाफ नर्सहरु पनि सहयोगी हुनुहुन्छ ।’ उनले भने ।
कलेजमा पाठेघरको समस्या लिएर आउने बिरामीहरू बढिरहेका छन् । बदलिँदो जीवनशैली र खानपानका कारण पछिल्लो समय महिनावारी गडबडी र पाठेघरको समस्याका बिरामीहरू बढेका छन् । त्यसो त विभागमा अनुभवी र विशेषज्ञ चिकित्सकहरू रहेकाले स्त्री रोग सम्बन्धी उपचारका लागि टाढाबाट बिरामीहरू आउने गरेका छन् ।‘हामी कहाँ हरेक रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरू हुनुहुन्छ । इमरजेन्सी र साधारण ओपिडीमा विशेषज्ञ चिकित्सकबाट उपचार हुन्छ, ओपिडीमा नभ्याउने बिरामीहरूको लागि इएचएसबाट पनि सेवा प्रदान गरिरहेका छौं ।’ स्त्री तथा प्रसूति रोग विभागीय प्रमुख प्रा.डा. मरहठ्ठाले बताइन् ।