सभापति लामिछानेलाई कानून बमोजिम नै कास्की पुर्याएका हौँ,दुर्व्यवहार भएको छैन : चितवन प्रहरी
जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार नगरिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको भनिएको विषय भ्रामक रहेको बताए ।लामिछानेलाई प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई प्रहरी नायव उपरीक्षक(डीएसपी)को कमाण्डमा चितवनबाट सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लामिछानेलाई कास्की लिएर जाने कुनै पनि प्रहरीले मादक पदार्थ सेवन नगरेको पनि प्रहरीले स्पष्ट पारेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्धामा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि काठमाडौंबाट मंसिर १८ गते बिहान जहाज मार्फत चितवन ल्याइएको थियो ।प्रहरीले कोही कसैले अनुुमानका आधारमा भनेको,सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी,सही, सत्य र तथ्यमा आधारित सुचना,समाचार सम्प्रेषित गर्न आग्रह गरेको छ ।चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुतिरहेका लामिछानेलाई प्रहरीले दुर्व्यवहार गरेर राति उठाएर कास्की लगिएको भन्दै अनुसन्धानको माग गर्दै राष्ट्रिय मावन अधिकार आयोगमा उजुरी दिएको छ ।लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।