२८ चैत्र २०८१, शुक्रबार

कर्णालीको राजधानीमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव हुन थालेको छ । प्रदेशको राजधानी तोकिएसंगै यहाँको बढ्दो सहरीकरणले जनसंख्या बढ्दै गए पछि खानेपानी अपुग हुन थालेको हो ।

वीरेन्द्रनगर उपत्यकामा झण्डै डेढ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक ३८८ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक भए पनि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको स्रोतमा दैनिक ९० लिटर प्रतिसेकेन्ड मात्र खानेपानी उपलब्ध भएको जनाएको छ ।

खानेपानीको स्रोत सुक्दै जान थालेपछि सुर्खेत उपत्यकमा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गरिने भएको छ । सुख्खा खडेरीका कारण पानीको स्रोत घट्दै गएपछि सुर्खेत उपत्यका खानेपानी संस्थाले तीन दिनको फरकमा पानी वितरण गर्न लागेको जनाएको छ ।

वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, ईत्राम खोलाबाट २७, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रति सेकेन्ड गरी जम्मा १५८ लिटर प्रति सेकेण्ड खानेपानी उपलब्ध हुने गरेको थियो ।

खानेपानीका स्रोतहरूमा ह्रास आएपछि अहिले झुप्रा खोलाबाट ५०, खरीबोरी खोलाबाट २०, ईत्राम खोलाबाट १०, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट ५ लिटर प्रति सेकेण्ड ९० लिटर पानी आपूर्ती भइरहेको संस्थाका ईन्जिनियर बालाराम तिवारीले जानकारी दिए ।

सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा पनि खानेपानी अभाव हुन थालेको सुर्खेत उपत्यका खानेपानी संस्थाका कार्यालय प्रमूख डम्मरबहादुर गौतमले जनाए । उपत्यकामा झुप्रा खोला, खरिखोला, बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुलेबाट खानेपानी उपलब्ध गराउँदै आएको छ ।

गर्मीयाम सुरुभएसंगै वीरेन्द्रनगरमा खानेपानी अभाव अझ बढ्न सक्ने अनुमान गरिएको छ । ‘विगतका बर्षहरुमा खानेपानी ९६ घण्टामा एक पटक उपलब्ध भएको छ’ गौतमले भने, ‘स्रोतमा आउने कमीका आधारमा पनि पानीको आपुर्ती घटबढ हुनसक्छ ।’

उपत्यका खानेपानीको मुख्य स्रोत मानिएको झुप्रा खोलाको मुहनामा नियमित ७६ लिटर प्रतिसेकेण्ड उपलब्ध भएपनि सुख्खायाम उक्त मुहानमा ५० लिटर प्रतिसेकेण्ड पुग्दा उपत्यकामा खानेपानी अभाव बढ्ने गरेको छ ।

पुरानो लाइनका पाइपहरु जिर्ण हुँदै गएपछि हुने खानेपानी चुहावटले पनि उपत्यकाको खानेपानीमा असर गरेको कार्यालय प्रमूख गौतमले बताए । खानेपानी वितरण लाईनका केही स्थानमा पाइपहरु पुराना भई जिर्ण हुँदै गए पानी चुहावट भएको बताइएको छ ।

सुर्खेत उपत्यकामा झण्डै २० वर्षसम्म खानेपानीको समस्या नहुने भनेर २०५६ सालबाट निमार्ण सुरु गरेको सुर्खेत उपत्यका खानेपानी आयोजनाले २०६७ सालबाट पानी वितरण गरेको थियो ।

पानी वितरण सुरु गरेपछि २० वर्ष पानीको समस्या नहुनेमा ढुक्क भएका सुर्खेतबासी तीन वर्ष नपुग्दै आयोजनाले हप्ताविराएर पानी वितरण गर्न थालेपछि पुरानै मुहान बुलवुले र चिसापानीको ढुंङ्गेधारामै निरर्भर हुनुपरेको छ ।

झुप्राको मुहान सुक्दै गएपछि स्थानीय खरीखोला र बोरी खोलाको मुहानलाई मुख्य वितरण लाइनमा राखेर थप नयाँ धारा निर्माण गरी आलोपालो प्रणालीबाट सुर्खेत उपत्यकामा पानी वितरण गरिएको छ ।
सुर्खेत उपत्यका खानेपानी संस्थाले अहिले १५ हजार ७ सय धारा वितरण गरिसकेको छ भने ४ हजार १ सय नयाँ धारा जडानका निवेदन लिएको जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]