गुल्मीमा राहदानी सेवा प्रारम्भ

तम्घास, पुस ८ गते ।  सहज रूपमा सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्षद्वारा जिल्ला प्रशासन कार्यालय गुम्मीमा तोडफोड भएपछि रोकिएको राहदानी सेवा आइतबारबाट सुचारु भएको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गाउँपालिकाका नागरिकले सहज रूपमा सेवा नपाएको आक्रोशमा राहदानी फाँटको स्क्यानर फुटाउनुभएको थियो ।बिहीबारबाट रोकिएको राहदानी फाँटको काम आइतबार बिहान १० बजेबाट सुरु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बिहीबार बाँकी रहेका र शुक्रबार ४० जनाका लागि वितरण गरिएको टोकनका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर आइतबारको काम अगाडि बढाइएको गैरेले बताउनुभयो ।

बिहीबारबाट रोकिएको राहदानीका लागि आवेदन सङ्कलन कार्य विभागबाट स्क्यानर आएपछि आइतबारबाट सेवा सुचारु गरिएको गैरेले बताउनुभयो । बिहीबार रोकिएको राहदानीको काम नहुँदा सेवाग्राही थप मर्कामा परेका थिए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सदरमुकामबाट विकटमा रहेका नागरिक सदरमुकाम आउँदा दिउँसो २ बज्ने भएकाले सहज रूपमा सेवा पाउनुपर्ने माग गर्नुभएको थियो । विकटका नागरिकलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्नुपर्ने उहाँको माग थियो । आफूले व्यक्तिगत नभई गाउँपालिकाभित्रका नागरिकका लागि आवाज उठाएको उहाँको तर्क छ । यही अवस्थामा कालीगण्डकीका नागरिकले सेवा लिनका लागि तीन दिनको समय खर्चिनुपर्ने उहाँको भनाइ छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले स्थानीय सरकार र सङ्घीय सरकारबिच समन्वयको अभावका कारण समस्या भएको बताउनुभयो । समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा तोडफोडमै जानु गलत भएको उहाँको तर्क छ । जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा थप सुधार गर्नु आवश्यक भएको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट हुने सेवा प्रवाहमा कसैलाई काखा र कसैलाई पाखा नहुने प्रशासनले जनाएको छ । विकटलाई ध्यानमा राख्दै इमेलबाट अपुग सिफारिस मगाएर सहजीकरण गर्दै आएको कार्यालयले जनाएको छ । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रेशमराज न्यौपानेले कालीगण्डकी, सत्यवती र चन्द्रकोट गाउँपालिकालाई केन्द्रित गरी इलाका प्रशासन आवश्यक रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले केही दिनपहिले देखिएका समस्या समाधान गर्नका लागि इलाका प्रशासन आवश्यक रहेको बताउनुभएको हो । यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्क्यानर फुटाउने अध्यक्षलाई क्षतिपूर्ति भराई राजनीतिक दलहरूको रोहबरमा लिखित माफी गराइएको बताउनुभयो ।