
रौतहट । रौतहट प्रहरीले बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।
वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ४ जना अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका ४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पु¥याई गोली हानी हत्या गरेको पाइएको हो । रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोलि हानी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित घरमा टिनको बाकसमा लुकाएको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
उनीहरुले प्रयोग गरेको बीआर०५डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारीएको अवस्थामा गौरको एक वर्कशपबाट फेला परेको उनको भनाइ छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए । घटनामा सग्लन अन्यको खोजी भै रहेको र यस सम्बन्धी थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।