काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन्।
बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुने छन्। दुई दिनभित्र बैठक सक्ने तयारी छ।
यसैगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजेदेखि बस्ने बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनको प्रतिवेदनमाथि छलफल हुने छ।
बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहने छ।
public khabar 24 पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन