दृष्टिविहीन दम्पती : अगरबत्ती बेचेरै १६ लाखको घरजग्गा

पाल्पा — दृष्टिविहीन गौरव तिमिल्सेना क्षेत्री (३६) को एउटा हातमा सेतो छडी छ । अर्को हातले दृष्टिविहीन श्रीमती सम्झना थापा तिमिल्सेना (३३) लाई डोर्‍याउँदै छन् । उनीहरूको यात्रा तय हुन्छ, नजिकको हार्थोक बजारका साथै भैरवस्थान मन्दिरसम्मको । घामपानी, जाडो-गर्मी, बिदा वा अन्य दिन केही भन्दैनन् । उनीहरूको दैनिकी यसैगरी बितेको ६ वर्ष भयो । निरन्तरताको मिहिनेत र यस्तै दैनिकीले दम्पतीलाई सफलता पनि दिलाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–३, खस्यौली सिरुपातेका दृष्टिविहीन दम्पती गौरव र सम्झनाको कथा अलि बेग्लै छ । उनीहरू दुवै जना जन्मजात दृष्टिविहीन हुन् । तर उनीहरू मागेर होइन, अगरबत्ती बिक्री गरेर आफ्नो गुजारा मात्र गरेका छैनन् घर, जग्गा पनि जोडिसकेका छन् ।

सिरुपातेमा घरसमेतको झन्डै ८ रोपनी जग्गा नाममा यसैवर्ष जोडेका छन् । घरसँगै रहेको जग्गासमेत १६ लाखमा खरिद गरेका हुन् । ६ वर्षदेखि नजिकैको हार्थोक बजारमा डेरा गरी बिताएका उनीहरू गत साउनदेखि आफ्नै घरमा बस्छन् ।

दैनिक बिक्री गर्ने अगरबत्ती आफैं बनाउन पनि जानेका छन् । केही समययता भने नेपालगञ्जमा अपांगता भएकाहरूले नै सञ्चालन गरेको उद्योगबाट पठाएको अगरबत्ती बिक्री गर्दै आएको गौरवले बताए । ‘अगरबत्ती आफैं पनि बनाउन सक्छौं,’ उनले भने, ‘अगरबत्तीको सम्पूर्ण काम गर्न अलि झन्झटिलो छ । पछिल्लो समय मसला भरेको सिन्का आउने भएकाले सेन्ट लगाएर प्याकिङ गर्न गर्ने गरिन्छ ।’

दुवै जनाले अगरबत्ती बनाउने तालिम लिएका छन् । दृष्टिविहीन भए पनि सबै काम गर्न सक्ने उनीहरुले आफै पनि अगरबत्ती बनाउन सक्ने क्षमता भएको बताए । ‘घरमा बस्ने अरु कोही छैन,’ उनले भने, ‘६ वर्षदेखि नै हामी दुबै जनाले यसैगरी साथ बिताएका छौं ।’ दुःख के हो भन्ने आफूलाई मात्र थाहा भएको बताउने गौरबको घर भने मधेश प्रदेशको रौतहट जिल्ला हो । बुबा आमाको मृत्यु भएपछि धेरै संघर्षरत रहेको उनले बताए ।

सम्झना पाल्पाकै रिब्दीकोट मालमुलमा जन्मे हुर्केकी हुन् । जन्मजात दृष्टिविहिन दुवै जनाको ६ वर्षअघि विवाह भएको हो । साथीमार्फत चिनजान भएर कुराकानी भएर घरजम गर्ने निधो गरेका हुन् । ‘साथीमार्फत टेलिफोनमा हाम्रो चिनजान भयो,’ सम्झनाले भनिन्, ‘त्यसपछि कुरा हुँदै गर्दा घरमा बोलाएर बुबाआमासँग कुराकानी भयो । त्यसपछि विवाह गरेका हौं ।’ दृष्टिविहीनको दुःख दृष्टिविहीनले नै बुझ्ने भएकाले पनि एकअर्कालाई बुझ्ने प्रयास गरेको उनले बताइन् । घरको सरसफाइ, खाना पकाउने, भाडा माझ्ने सबै काममा एकले अर्कोलाई सघाउने गर्छन् ।

बिहानै सबेरै उठेर घरको काम सक्छन् । दिनभर उनीहरू ‘दृष्टिविहीनलाई सहयोग गर्नुस्’ भन्दै अगरबत्ती बिक्री गर्छन् । कहिलेकाहीँ २ देखि ३ हजारसम्मको पनि बिक्री हुन्छ । तर कतिपय दिनमा भने २ देखि ३ सय रुपैयाँको पनि बिक्री नहुने उनीहरूले बताए । हार्थोक बजारका साथै भैरवस्थान मन्दिर वरपर नै उनीहरुलाई दैनिक भेट हुन्छ । गौरवले पैसा चिन्ने सफ्टवेयर राखेका छन् । ‘यही सफ्टवेयरको माध्यमबाट हामीले दैनिक कारोबार गर्छौं,’ गौरवले भने, ‘यसले गर्दा कति पैसा जम्मा भयो वा बिक्री भयो भन्ने आधार हुन्छ ।’

पर्याप्त अवसर प्राप्त गर्न सकेमा अपांगता भएका व्यक्तिहरूले पनि आत्मनिर्भर भई स्वाबलम्बी जीवन जिउन सकिन्छ भन्ने उदाहरण गौरव र सम्झना बनेको स्थानीय छिमेकी विमला गौतमले बताइन् । ‘दृष्टिविहीन दम्पतीले गरेको प्रगति देख्दा हामीलाई पनि गौरवान्वित बनाएको छ,’ उनले भनिन्, ‘दृष्टिविहीन दम्पतीले गरेको काम देख्दा र प्रगतिबाट म मात्र होइन यो टोलका सबै दंग पर्नुहुन्छ ।’ दैनिक गरेको मिहिनेत र बचतबाट नै सफलता प्राप्त गरेको देखिएको स्थानीय सपना सुनामले बताइन् । ‘कमाएर मात्र हुन्न बचत पनि गर्न जान्नुपर्छ भन्ने उदाहरण दृष्टिविहीन दम्पत्ती बनेको पाए,’ उनले भनिन् ।