वीरगन्ज, भारतको अयोध्यामा राम मन्दिर निर्माण र भगवान् श्रीरामलालको प्राण प्रतिष्ठाको वार्षिकोत्सवको उपलक्ष्यमा वीरगन्जमा शनिबार भव्य शोभायात्रा आयोजना गरिएको छ। नेपाल जनता पार्टी पर्साको आयोजनामा बाजागाजा र झाँकीसहित यो शोभायात्रा निकालिएको हो।
गत वर्ष पौष शुक्ल पक्ष द्वादशीका दिन अयोध्यामा राम मन्दिरको उद्घाटन तथा भगवान् श्रीरामलालको प्राण प्रतिष्ठा गरिएको थियो। सोही ऐतिहासिक क्षणको एक वर्ष पूरा भएको अवसरमा वीरगन्जमा शोभायात्रा निकालिएको हो।
शोभायात्रा लालबंगला परिसरबाट सुरु भएर घण्टाघर, माईस्थान, आदर्शनगर चोक, अलखिया मठ चोक, घडिअर्वा हुँदै पुनः लालबंगला परिसरमै पुगेर समापन भएको थियो।
कार्यक्रममा नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, केन्द्रीय सदस्यहरू सुरेश साह कानु, विनोद कुर्मी, पारस दुबेदी, प्रहलाद साह कलवार, गोपाल दास, मधेश प्रदेश अध्यक्ष शत्रुघन साह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज साह कानु, महासचिव नवीन मिश्रासहित अन्य नेताहरूको उपस्थिति थियो।
शोभायात्रामा सहभागीहरूले “नेपाललाई हिन्दू राष्ट्र कायम गर”, “हिन्दू हिन्दू भाईभाई”, “ॐकार परिवार एक होऔं”, “धर्मनिरपेक्षता खारेज गर”, “धर्म परिवर्तन गराउनेलाई कारबाही गर” जस्ता नारा लगाएका थिए।
यस शोभायात्राले धार्मिक भावना अभिव्यक्त गर्दै हिन्दू धर्मको संरक्षण र प्रबर्द्धनको सन्देश दिएको सहभागीहरूले बताएका छन्।
शोभायात्रा