काठमाडौँ, १ माघः सिन्धुलीको भिमानबाट ४१ तोला अबैध काँचो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुनसहित पर्साको पोखरिया नगरपालिका– ८, जगतपुरका ४८ वर्षीय बिक्रम साहलाई भिमानबाट पक्राउ गरिएको हो ।
उक्त गाडीमा सवार साहको कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुनसहित विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार बरामद भएको सुनको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको छ । विशेष सूचनाका आधारमा भिमान चेकपोस्टमा चेकजाँच गर्दा साहको साथबाट औठी त्रीहत्तर थान, मंगलसुत्र पाँच थान, झुम्का–टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, मोवाईल एक थान र १९ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
काँचो सुन पक्राउ