
सप्तरी – महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहज्यूले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ मा विभिन्न विकास परियोजनाको शिलान्यास गर्नुभएको छ। महावीर चोकस्थित भगवती स्थानदेखि हनुमान मन्दिरको गेटसम्मको सडक निर्माणका लागि मन्त्री साहको पहलमा भौतिक मन्त्रालयबाट १ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित महावीर उच्च माध्यमिक विद्यालयमा थप भवन निर्माणका लागि मन्त्री साहले शिलान्यास गर्नुभएको छ। उक्त भवन निर्माणका लागि १ करोड रुपैयाँको बजेट उपलब्ध गराइएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। मन्त्री साहले विकासका योजना निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।