नागढुंगा-मुग्लिन सडक स्तरोन्नति: मध्यदिनमा सवारी रोकेर काम सुरु

धादिङ- नागढुंगा-मुग्लिन सडक दैनिक तीन घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु गरिएको छ । काममा भएको ढिलासुस्तीले सो सडक बेहाल अवस्थामा छ । पछिल्लो पटक थपिएको अवधी सकिन पचास दिन मात्रै बाँकी रहँदा नागढुङ्गा-नौविसे सडक निर्माणको भौतिक प्रगति ६१ प्रतिशत मात्रै छ ।यसैगरी नौविसे-मलेखु सडक खण्डको निर्माण अवधी ६ महिना मात्रै बाँकी हुँदा भौतिक प्रगती जम्मा २५ प्रतिशत छ । मलेखुदेखि मुग्लीनसम्म पर्ने तेस्रो खण्ड निर्माणको काम त झन् १८ प्रतिशत मात्रै सकिएको छ ।स्तरोन्नतिको क्रममा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको निर्माणको कामले गति लिन नसक्दा सो राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनहरुले निकै सास्ति खेप्नु परेको छ ।

सडकमा सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । संघीय राजधानी काठमाण्डौं प्रवेश गर्ने मुख्य राजमार्गको दुरावस्थाका कारण कष्टप्रद र जोखीमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै यात्रु तथा सवारी चालकहरुले काम छिटो सक्न माग गरेका छन् ।नागढुङ्गादेखी नौविसेसम्मको सडक निर्माण सुरु गरेको तीन वर्ष पुग्न लाग्दा सडक निर्माणको भौतिक प्रगति ६१ प्रतिशत मात्रै भएको छ । तोकिएको समयावधी अनुसार २०८१ जेठ महिनासम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो ।समयमा काम नसकिएपछि आठ महिना थप गरेको समय पनि जम्मा पचास दिन मात्रै बाँकी छ । यो समय अवधीमा पनि सो खण्डको काम सकिने कुनै छाँट छैन । यसैगरी नौविसेदेखी मलेखुसम्मको सडक निर्माण २०७९ सालदेखि सुरु भएको हो ।

सो खण्डको निर्माण अवधी अव ६ महिना मात्रै बाँकी छ भौतिक प्रगती जम्मा २५ प्रतिशत मात्रै छ । यही गतिमा काम हुने हो भने अझै चार वर्ष भन्दा धेरै समय लाग्ने छ ।मलेखुदेखी मुग्लिनसम्म पर्ने तेस्रो खण्ड निर्माणको लागि तोकिएको समय अब करिब एक वर्ष मात्रै बाँकी छ । निर्माणको काम जम्मा १८ प्रतिशत मात्रै सकिएको छ ।नागढुङा-मुग्लिन सडक निर्माण आयोजनका प्रमुख केशव ओझा भने सडक क्षेत्रमा पर्ने विद्युत पोल सार्ने काममा भएको ढिलाइ, वन क्षेत्रका रुख कटान र केही घरहरुको क्षतिपुर्ति दिन भएको विलम्वका कारण यस्तो अवस्था आएको बताउनु हुन्छ ।काठमाण्डौको नागढुङ्गादेखी चितवनको मुग्लिनसम्मको ९४ किलोमिटर सडक स्तरोन्नती सहित निर्माणको नाममा जथाभावी खनेर त्यतिकै छाडिएको छ । कामदारहरु पनि फाटफुट्ट मात्रै देखिन्छन् ।

आइतबारदेखी दैनिक तीन घण्टा सवारी ठप्प बनाई एक सातासम्म गल्छी गाउँपालिकामा पर्ने पोख्रो खोला र बेनीघाट रोराङ्ग गाउँपालिका क्षेत्रमा पहाड काट्नका लागी सवारी बन्द गरिएको छ ।एसियाली विकास बैकको करिव ४२ अर्ब रुपैयाँको ऋण लगानीमा निर्माण सुरु गरिएको सो सडक डेलिकेटेड दुई लेन, बजार क्षेत्रहरुमा चार र ६ लेनको बन्ने छ ।