बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्। डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।
जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले तीन वर्ष पुरानो घटनामा वडाध्यक्ष साहसहित सातजनाविरुद्ध गत मंगलबार मुद्दा दायर गरेको हो। साहविरुद्ध जबर्जस्ती करणीपछि हत्या र अपहरण गरी व्यक्ति बेपत्ता पारेको तीनवटा कसुरमा छुट्टाछुट्टै अभियोगपत्र दायर भएको छ।
उक्त मुद्दामा वडाध्यक्ष साहसहित राजनारायण साह, ईन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साहलाई प्रतिवादी बनाइएको छ। उनीहरूले २२ चैत ०७८ को बिहान १० बजे सोही वडाकी २० वर्षकी सन्तोषीकुमारी साहलाई पटक–पटक बलात्कार गरी हत्या गरेको भन्दै उनकी आमा चन्दरदेवी साहले जाहेरी दिएकी थिइन्। जाहेरीअनुसार बलात्कारपछि घाँटी थिचेर सन्तोषीको हत्या गरिएको थियो। घटना चन्दरदेवीकै घरभित्र भएको जाहेरीमा उल्लेख छ।
कारागार चलान