०२ माघ २०८१, बुधबार

पालिकाद्वारा घुम्ती भिडियो एक्सरे सेवा

सल्यान — दुई वर्षअघि त्रिवेणी गाउँपालिका–६ सल्लेखोलाकी २० वर्षीया शर्मिला सुनार पहिलो गर्भ परीक्षणका लागि भिडियो एक्सरे गर्न करिब डेढ घन्टा गाडीमा यात्रा गरेर जिल्ला अस्पताल सल्यान पुगेकी थिइन् । भिडियो एक्सरे गर्नका लागि उनले दुईपटक जिल्ला अस्पताल धाउनु परेको थियो । दोस्रोपटक गर्भवती भएकी उनले अहिले भने लुहाम स्वास्थ्यचौकीमै भिडियो एक्सरे गरेर गर्भ परीक्षण गराउने अवसर पाएकी छिन् ।आफ्नै घर नजिकैको स्वास्थ्यचौकीमा भिडियो एक्सरे गरे गर्भ परीक्षण गराउँदा गाडी भाडा लगायत अन्य गरी उनको दुई हजार रुपैयाँ बचेको छ । यस्तै बाग्चौर नगरपालिका–७ कोटमौलाकी २५ वर्षीया विमला ओली पनि पहिलो पटक गर्भवती भएका बेला गर्भ परीक्षणका लागि भिडियो एक्सरे गर्न दुई घन्टा बढीको यात्रा गरेर जिल्ला अस्पताल आएकी थिइन् । अहिले दोस्रो पटक गर्भवती भएकी उनले यसपालि जिल्ला अस्पताल धाउनु परेन । स्थानीय स्वास्थ्यचौकीमै भिडियो एक्सरे गरेर उनले सहज सेवा लिएकी छिन् ।

जिल्लाका १० स्थानीय तहले ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमअन्तर्गत भिडियो एक्सरे मेसिन किनेर प्रत्येक महिना घुम्ती शिविरका रूपमा प्रत्येक स्वास्थ्य संस्थामार्फत भिडियो एक्सरे सेवा सुचारु गरेपछि दुर्गमका गर्भवती महिलाले गाउँकै स्वास्थ्यचौकीमा गर्भ परीक्षण गर्न पाएका छन् । घुम्ती शिविरमार्फत प्रत्येक महिना स्वास्थ्यचौकीमार्फत सेवा दिन थालेपछि गर्भवती महिलालाई भिडियो एक्सरे सेवाका लागि अस्पताल धाउनु नपरेको हो । विगतमा विभिन्न कष्ट उठाउँदै जिल्ला अस्पताल तथा जिल्लाबाहिर जान बाध्य भएका गर्भवती महिलालाई अहिले धेरै राहत भएको छ । ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रममार्फत भिडियो एक्सरे किनेपछि गर्भ परीक्षणका लागि दाङ तथा जिल्ला अस्पताल सल्यान जानुपर्ने बाध्यताको अन्त्य भएको त्रिवेणी गाउँपालिका–५ लुहामकी पार्वती नेपालीले बताइन् । यसले धेरै राहत भएको उनले जानकारी गराइन् । उनले भनिन्, ‘बिहानै घरबाट निस्केर जिल्ला अस्पताल जानु पर्थ्यो । दिउँसो १२ बजेपछि मात्र भिडियो एक्सरे हुने भएकाले लामो समय लाइनमा बस्नु पर्थ्यो । बेलुकी घर फर्कन धेरै गाह्रो हुन्थ्यो । भनेको समयमा गाडी नपाइँदा हिँड्नु पर्ने हुन्थ्यो । अहिले कुनै कष्ट उठाउनु परेको छैन ।’

बन्गाड कुपिण्डे नगरपालिकाको च्युरास्थित स्वास्थ्यचौकीमार्फत नियमित रूपमा भिडियो एक्सरे सेवा सुचारु गरेपछि मिसन अस्पताल चौरजहारी, सुर्खेत, नेपालगन्ज जानु नपरेको २६ वर्षीया कमला रोकाले बताइन् । पालिकाले भिडियो एक्सरे सेवा सुचारु गरेपछि गर्भवती महिलाले आफ्नो गर्भको बच्चाको अवस्था के छ, कसरी बसिरहेको छ, सुरक्षित छ कि छैन भने सजिलै थाहा पाउने गरेको उनले जानकारी गराइन् । ‘पहिला लामो समय गाडीमा सफर गर्दा कच्ची सडक भएकाले धेरै गाह्रो हुन्थ्यो । उस्तै परे गर्भ तुहिने डर हुन्थ्यो, रक्तश्रावका कारण गर्भवती महिलाको ज्यान खतरामा पर्थ्यो,’ उनले भनिन्, ‘अहिले धेरै सहज भएको छ ।’ सबै वडामार्फत उक्त सेवाको व्यवस्था मिलाए गर्भवती महिलाका लागि धेरै राहत हुने उनको भनाइ छ ।

घरमै बसेर आराम गर्नुपर्ने समयमा गर्भ परीक्षणका लागि लामो समय यात्रा गरेर जिल्लाबाहिर धाउनु पर्ने बाध्यताको अन्त्य गर्न र उनीहरूलाई गाउँघरमै सेवा दिन अहिले लुहामको स्वास्थ्यचौकीमार्फत सेवा सुरु गरेको र प्रत्येक वर्ष यसलाई विस्तार गर्दै सबै वडामा संचालन गर्ने लक्ष्य रहेको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य संयोजक प्रभातकुमार श्रेष्ठले बताए ।‘वर्षमा पालिकाभित्र ३/४ सय महिला गर्भवती हुने गरेका छन् । गत वर्षसम्म गर्भ परीक्षण गर्न सबै बाहिर जान बाध्य थिए । अब नजिकैको स्वास्थ्य संस्थाभन्दा कहीं जान पर्दैन,’ उनले भने । भिडियो एक्सरे सेवाले अकालमा हुने नवजात शिशु र मातृमृत्यु घटाउने उनको भनाइ छ ।

कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले पालिकाले खरिद गरेको मेसिनमार्फत प्रत्येक महिनामा एकपटक सबै स्वास्थ्य चौकीमा लगेर घुम्ती शिविरका रूपमा गर्भवती महिलाको भिडियो एक्सरे गर्दै आएको बताए । उक्त सेवाले गर्दा दुर्गमका गर्भवती महिलालाई धेरै सहज भएको र नवजात तथा मातृमृत्यु दर घटाएको उनले जानकारी गराए ।गर्भमा रहेको बच्चा र आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि पछिल्लो समयमा भिडियो एक्सरे अति आवश्यक भएकाले गर्भवती महिला तथा नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर स्वास्थ्यचौकी मूलखोलामार्फत सेवा सुचारु गरिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलले बताए । ‘एकपटक गर्भ परीक्षणका लागि ५ सय रुपैयाँ खर्च गर्दै आएका र गाडीबाट आउजाउ गर्दा भाडा लगायत अन्य गरी २/३ हजार खर्च गर्न बाध्य भएका महिलाले अब कत्ति खर्च गर्न पर्दैन । आर्थिक अभावका कारण अब कसैले सेवाबाट वन्चित हुन पर्दैन,’ उनले भने ।

दार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादुर बस्नेतले विगतका वर्षमा घुम्ती शिविरका बेला वर्षमा एक पटक गर्भ परीक्षण गर्न भिडियो एक्सरे सेवा सुरु गरे पनि त्यसबाट सबै गर्भवती महिला लाभान्वित हुन नसकेकै कारण अहिले नियमित रूपमा सेवा दिँदै आएको बताए ।पालिकाभित्र सात स्वास्थ्यचौकी रहेकामा अहिले सबैलाई पायक पर्ने गरी चार स्वास्थ्यचौकीबाट सेवा दिइरहेको उनले जानकारी गराए । उनका अनुसार गत वर्षसम्म गर्भ परीक्षण गराउन जिल्ला अस्पताल सल्यान टाढा पर्ने भएकाले सबै महिला मिसन अस्पताल चौरजहारी धाउन बाध्य थिए । अहिले कहीं जानु पर्दैन । पालिकामा वर्षमा झन्डै चार सय महिला गर्भवती र सुत्केरी हुने उनको भनाइ छ ।

public khabar24 गर्न करिब डेढ घन्टा गाडीमा यात्रा गरेर दुई वर्षअघि त्रिवेणी गाउँपालिका–६ पहिलो गर्भ परीक्षणका लागि भिडियो एक्सरे सल्लेखोलाकी २० वर्षीया शर्मिला सुनार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]