०२ माघ २०८१, बुधबार

‘मेयर साम्पाङद्वारा पत्रकार दाहाललाई ज्यान मार्नेसम्मको धम्की’

समाचार लेखेकै आधारमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई त्यहाँका प्रमुख हर्कराज राईले ज्यान मार्नेसम्मको धम्की दिएको पाइएको नेपाल पत्रकार महासंघले जनाएको छ। पत्रकार दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले पेस गरेको प्रतिवेदनमा त्यस्तो उल्लेख छ।मिसनले शुक्रबार नै पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासमक्ष प्रतिवेदन पेस गरे पनि त्यसका मुख्यमुख्य बुँदा आइतबार सार्वजनिक गरिएको छ। महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गरी मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन्।पत्रकार महासंघले केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, महासंघ कोसी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बा रहने गरी मिसन गठन गरेको थियो। मिसनले सबै पक्षसँग छलफल गरी स्थलगत प्रतिवेदन तयार पारेको महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्राप्त तथ्यहरू प्रस्तुत गरी निकालिएको निष्कर्षलाई विज्ञप्तिमा समेटिएको छ। जसअनुसार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईका गतिविधिहरू सामाजिक रूपमा दुरी र द्वन्द्व बढाउने खालका रहेको तथ्य प्रतिवेदनले औंल्याएको छ।‘आफ्नो आलोचना गर्नेहरू तथा नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जती गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका कार्यहरू प्रमुख राईबाट भइरहेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ।’ प्रतिवेदनका अनुसार प्रमुख राईले व्यावसायिक पत्रकारहरूलाई निसाना बनाउने, जबाफ दिन अनुकूल प्रश्न नगर्नेलाई ‘दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको’ देखिएको छ।

‘नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत नगर प्रमुखले पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडियो सामग्रीहरू बनाउने कार्यले गोपाल दाहाल लगायत पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइयो,’ विज्ञप्तिमा उल्लेख छ।त्यसैमा अगाडि भनिएको छ, ‘कतिपय पीडित पत्रकारका छोराछोरी बुबाआमालाई धन्क्याएका वा गाली गर्दै लेखेका सामाजिक सञ्जालको स्टाटस हेरेर डराएको, विद्यालयमा पढ्न जानसमेत सशंकित हुने गरेको पाइएकाले त्रासको वातावरण व्यक्तिमा मात्र सीमिति नरही परिवारको तहसम्म विद्यमान रहेको पाइयो।’

राईका गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको निष्कर्ष प्रतिवेदनल निकालेको छ। ‘राईका विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभाव पारेको देखिन्छ। राईले अधिकार दुरूपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष भन्दै महासचिव दाहालले विज्ञप्तिमा उल्लेख छ, ‘राईले सामाजिक सञ्जालमा उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेका छन्। आफ्ना समर्थकहरूलाई पनि त्यस कामका लागि हौस्याएको पाइएको छ।’

पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता तथा पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको प्रस्ट पारेको पनि उल्लेख गरिएको छ। ‘अझ पत्रकारहरूको परिवार पनि मानसिक तनाव र धम्कीको सामना गर्न बाध्य भएको पाइयो। यसबाट संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको देखिन्छ,’ त्यसमा उल्लेख छ, ‘नगर प्रमुख राईले जिल्लाको अनलाइन मिडिया एसोसिएसनमार्फत आफ्नो पक्षमा प्रचारप्रसार गर्ने रणनीति अपनाएको र मूलधारका मिडिया तथा पत्रकारलाई बेवास्ता गरेको पाइयो।’

नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिए पनि धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेकाले समाचारको विषय बनेको मात्र नभई स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको र त्यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने देखिएको निष्कर्ष प्रस्तुत गरिएको छ।तथ्य र निष्कर्षहरूका आधारमा थप छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न पत्रकार महासंघले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरिरहेको महासचिव दाहालले बताएका छन्।

public khabar24 धरानका पत्रकार गोपाल दाहाललाई पत्रकार दाहालसँग जोडिएको घटनाको प्रमुख हर्कराज राईले ज्यान मार्नेसम्मको धम्की
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]