पर्साको जिराभवानी गाउँपालिका वडा नं. २ सेढवामा थारु समुदायको थारु संवत २६४९ को नयाँ वर्षको अवसरमा माघी (खिचडी) महोत्सव मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिकाको प्रायोजन तथा युवा प्रगतिशील समाज नेपालको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा सम्पन्न महोत्सवको उद्घाटन प्रदेश सांसद शंकर प्रसाद चौधरीले गरेका थिए। कार्यक्रममा थारु समुदायको परम्परागत कला, संस्कृति, भाषा, पहिरन, र पहिचानलाई जीवन्त राख्न विभिन्न गीत, संगीत, र नृत्य प्रस्तुत गरिएको थियो।
महोत्सवमा माछा, घोंघी, परेवाको मासु, र हाँसको मासु जस्ता थारु परिकारहरू प्रदर्शनीमा राखिएका थिए। साथै, माछा मार्ने खोकी र बेवा जस्ता थारु परम्परागत सामग्रीहरू पनि प्रदर्शन गरियो।
उता, पटेर्वासुगौली गाउँपालिकामा पनि चौथो माघी तथा भाथा महोत्सव भव्य रूपमा सुरू भएको छ। गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा महोत्सवको उद्घाटन पूर्व गाबिस अध्यक्ष परमेश्वर गौरोले गरेका थिए।
तीन दिनसम्म चल्ने महोत्सवमा भाथा क्षेत्रमा पर्यटक भित्र्याउन पर्सा राष्ट्रिय निकुञ्जसँग सहकार्य गर्दै जीप सफारी र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।
रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् भने बालविवाह र दाइजो प्रथा न्यूनीकरणमा थारु समुदायको चेतनामूलक नाटक प्रस्तुत गरिएको छ। महोत्सवमा थारु कलाकार समिक्षा चौधरी र नेपाली निरहुवाको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ।